मिथ्या सूचनाविरुद्धका कार्यक्रम

अमेरिकी थिङ्क ट्याङ्क कार्नेगी इन्डाउमेन्ट फर इन्टरनेशनल पिसको सन् २०२४ को अध्ययन _काउन्टरिङ् डिसइन्फर्मेसन इफेक्टीभलीः एन इभिडेन्स बेस्ड पोलिसी गाइड_का लेखकद्वय जोन बेटम्यान र डिन ज्याकसनले मिथ्या सूचनासँग जुध्न १० प्रकारका कार्यक्रम पहिचान गरेका छन् । तीमध्ये नागरिक समाजले योगदान गर्न सक्ने कार्यहरू यसप्रकार छन्:

१.स्थानीय पत्रकारिताको विकास

स्थानीय आमसञ्चारको प्रभाव कम हुँदा नागरिक सक्रियता, ज्ञान र विश्वासलाई कमजोर बनाएको छ जसले गर्दा मिथ्या सूचना फैलिनका लागि सहयोगी वातावरण निर्माण भएको छ । स्थानीय पत्रकारितालाई बलियो बनाउनाले मिथ्या सूचनाको फैलावट रोक्न वा सही सूचना फैलाउन मद्दत गर्न सक्छ ।

२. मिडिया साक्षरता अभियान

मिडिया साक्षरताको ज्ञान र सीपले नागरिकलाई मिथ्या सूचना र अविश्वसनीय समाचार स्रोत पहिचान गर्न मद्दत गर्न सक्छ भन्ने प्रमाणित कुरा हो । सफल मिडिया साक्षरता कार्यक्रमले नागरिकलाई सूचना उपभोगलाई नियन्त्रण गर्न (अर्थात विश्वसनीय स्रोतबाट मात्रै सूचना ग्रहण गर्न), गुणस्तरीय सूचना खोज्न र प्राप्त सूचनालाई आलोचनात्मक दृष्टिले मूल्याङ्कन गर्न सशक्त बनाउँछ ।

३. तथ्यजाँच

सार्वजनिक भएका महत्त्वपूर्ण सूचनाको आधिकारिता र सत्यता परीक्षण गर्ने तथ्यजाँचले मिथ्या सूचना सच्याउन प्रभावकारी भूमिका खेल्छ । तथ्यजाँच तटस्थ नागरिकहरूमा प्रभावकारी हुन्छ । तथ्यजाँचले मिथ्या सूचनाको फैलावट त रोक्छ तर यो छिटो गर्न नसकिने र प्रमाणमा आधारित प्रतिक्रियात्मक अभियान भएका कारण खर्चिलो र धेरै मात्रामा गर्न नसकिने हुन्छ ।

४. सम्भावित मिथ्या सूचनाविरुद्ध पूर्वजानकारी

निर्वाचन, ठूला राजनीतिक घटना वा विपद्का बेला फैलिने मिथ्या सूचनाहरूको पूर्वानुमान गर्न सकिन्छ र त्यस्ता मिथ्या सूचनालाई रोक्न पहिल्यै मिथ्या सूचना प्रतिरोध गर्ने सही सूचनाहरू प्रवाह गर्न सकिन्छ ।

मिथ्या सूचनाको लैङ्गिक आयाम पनि हुन्छ । मिथ्या सूचना र घृणायुक्त वचनले कसरी महिला र अन्य लैङ्गिक पहिचान भएका मानिसहरूलाई लक्षित र असर गरिरहेको हुन्छ अनि कतिपय अवस्थामा उनीहरूलाई उत्पीडन पनि गरिरहेको हुन्छ । मिथ्या सूचनाविरुद्धका अभियानहरूलाई यसबारे सचेत र संवेदनशील बनाउनुपर्ने आवश्यकता पनि देखिएको छ ।