मिथ्या सूचनाको पहिचान

मिथ्या सूचना चिन्न सजिलो छैन । जसले आफ्नो कुनै फाइदाका लागि मिथ्या सूचना निर्माण र प्रवाह गर्छन्, उसले यसलाई विश्वासयोग्य र चिन्न गाह्रो बनाउन हरसम्भव प्रयास गर्छन् ।

यसका साथै मिथ्या सूचनाले कुनै मानवीय भावनालाई तुरुन्तै जागृत बनाइदिने गरी निर्माण गरिएका हुन्छन् जसले गर्दा यसले मानिसलाई तुरुन्तै खुसी, दुखी, उत्साहित वा निराश बनाउँछ ।

र, यस्तो भावनात्मक प्रतिक्रियाको असरले आलोचनात्मक विश्लेषण गर्न असमर्थ बनाइदिन्छ । भावनात्मक प्रतिक्रिया शक्तिशाली हुँदा मानिस स्वभावत आफूलाई अभिव्यक्त गर्न उत्तेजित हुन्छ र शेयर वा लाइक वा प्रतिक्रिया लेखेर मिथ्या सामग्री फैलाउने सहयोग गर्ने अवस्थामा हुन्छ । मिथ्या सूचना निर्माण र प्रवाह गर्नेहरूले त्यो मानवीय कमजोरीलाई प्रयोग गर्ने प्रयास गर्छन् ।

तल उल्लिखित पक्षहरूमाथि विचार गर्ने हो भने धेरैजसो मिथ्या सूचना पत्ता लाग्छन् वा मिथ्या सूचना हुन सक्ने आधार देखिन्छन्:

१.सामग्री प्रकाशकको विश्वसनीयता

कुनै पनि सामग्री प्रकाशक चाहे त्यो व्यक्ति होस् वा संस्था होस् वा मिडिया होस् वा साइट हो त्यो कत्तिको परिचित हो ? मिथ्या समाचारहरू प्रायः नामै नसुनिएका वा नयाँ वा मूल सामग्री पढ्नै गाह्रो हुने गरी विज्ञापनले भरिएका वा राम्रो डिजाइन नभएका साइटमा प्रकाशित हुन्छन् । प्रकाशन वा सेयर गरिएका प्रकाशकका पुराना सामग्री हेरेर पनि ती प्रकाशनको विश्वसनीयता, आग्रह तथा पूर्वाग्रह थाहा पाउन सकिन्छ ।

२.वेबसाइटको नाम र ठेगाना

सूचना दिने व्यक्ति वा संस्थाको नाम र ठेगाना हेर्दा पनि कतिपय अवस्थामा शंका गर्न सकिन्छ । अनलाइनमा प्रकाशित सूचनाका हकमा नाम चलेका मिडियाहरूको नामसँग मिल्दोजुल्दो वा झुक्याउने खालका साइट छन् भने विश्वास गरिहाल्नु हुँदैन । जस्तै, कान्तिपुर र कान्तिपुर न्युज दुवै कान्तिपुर प्रकाशनकै हुँदैनन् । नागरिकन्युजडटकम र नागरिकन्युजडटब्लगडटकम एकै होइनन् । सामग्री प्रकाशित भएको साइटको ‘हाम्रो बारेमा’ पाना वा साइटका पुछारमा रहेका नाम, ठेगाना र सम्पर्क नम्बर हेरेर पनि साइटको विश्वसनीयता खुट्याउन सकिन्छ । साइट कसको नाममा र कहिले दर्ता छ भन्ने जानकारी पनि उपयोगी हुन्छ ।

३.शीर्षक र सामग्री

इन्टरनेटमा पाठक तान्न नाम चलेकै साइटले पनि झुक्याउने खालका वा सनसनीपूर्ण वा आकर्षक शीर्षक राख्न सक्छन् । त्यसैले शीर्षक र पहिलो अनुच्छेद मात्रै पढेर विश्वास गरिहाल्नु हुँदैन । कम्तीमा ४–५ अनुच्छेद पढेर ती अनुच्छेदमा शीर्षकलाई पुष्टि गर्ने तथ्य छन् कि छैनन् विचार गर्नुपर्छ । फाइल तस्बिर नभनी पुरानो तस्बिर प्रयोग गरिएको छ वा तोडमरोड गरिएको छ भने त्यसमा पनि विचार पुर्‍याउनुपर्छ । व्यक्तिका हकमा भन्न चाहेको कुरा र लेखेको कुरा मेल खान्छ कि खाँदैन भन्ने पनि विचार गर्नुपर्छ ।

४.लेखकको पहिचान

के सामग्रीको लेखक छ ? यदि हो भने के गुगलमा खोज्दा उसलाई भेट्टाउन सकिन्छ ? के उसको नाम थाहा छ ? नाम सुनिरहेको हो वा होइन भन्ने विचार गर्न सकिन्छ । सामग्री पत्यार लाग्ने खालको छैन, लेखकको नाम पनि छैन र संवाददाता वा स्रोत भनिएको छ भने शङ्का गर्नुपर्ने हुन्छ ।

५.तथ्य र अभिव्यक्तिका स्रोत

सामग्रीमा उल्लिखित स्रोत र तिनका अभिव्यक्ति विश्वसनीय हुनुपर्छ । नामै नसुनेका संस्था वा व्यक्तिलाई स्रोतका रूपमा प्रयोग गर्नु वा असम्बन्धित लाग्ने स्रोतहरूको प्रयोग मिथ्या समाचारका सूचक हुन् । समाचारमा उल्लिखित विज्ञहरू वा समाचारमा प्रयोग भएका स्रोतहरूबारे सोसल मिडिया वा साइटमा हेर्न पनि सकिन्छ । नाम नखोलिएका स्रोत (जस्तै– ‘नाम नखोल्ने सर्तमा एक अधिकारी’, ‘बैठकमा सहभागी एक नेता’, ‘एक उच्च अधिकारी’, ‘हाम्रो स्रोत’ वा ‘एक विज्ञ’ आदि) प्रयोग गरिएको छ भने ती स्रोतका तथ्य र अभिव्यक्तिमा प्रश्न गर्न सकिन्छ ।

६.प्रकाशन संख्या

कुनै पनि सामग्री एक स्थानमा मात्रै प्रकाशन भएको छ र अन्य समाचार साइटमा त्यो तथ्य वा सूचना वा घटनाबारे समाचार प्रकाशन भएको छैन भने शङ्का गर्नुपर्छ । त्यसो त एउटै समाचार धेरै साइटमा प्रकाशित हुँदैमा पनि विश्वसनीय हुँदैनन् । कुनै पनि सामग्रीबारे आफूले पहिल्यैदेखि प्रयोग गरिरहेको मूलधारका मिडियाका साइटमा खोज्नु उचित हुन्छ । कुनै सामग्रीबारे फरक–फरक मिडियामा विरोधाभाषपूर्ण तथ्य वा सूचना देखिन पनि सक्छ ।

७.प्रकाशित मिति

कतिपय अवस्थामा पुराना समाचार गलत समय र सन्दर्भमा प्रयोग गरिएका हुन सक्छन् । कुनै पनि समाचार पढ्दा त्यसको प्रकाशित मिति हेर्नुपर्छ । अझ सोसल मिडियामा त पुराना सामग्री पनि नयाँ झैँ प्रस्तुत गरिन सक्छन् ।

८.पक्ष/विपक्ष वा आग्रह तथा पूर्वाग्रह

पाठकको पक्ष र विपक्ष वा आग्रह तथा अनुग्रह हुन्छन् । कुनै पनि सामग्रीले आफ्नो विचार वा पक्ष वा आग्रह वा त्यसको फाइदासँग मेल खाँदैमा त्यो सामग्री सत्य समाचार हुँदैन । निष्पक्ष भएर सामग्री पढियो भने त्यो मिथ्या हो कि होइन भन्ने थाहा पाउन सहज हुन्छ । त्यसैगरी सामग्रीहरू सोसल मिडियामा सेयर गर्नेको आग्रह र अनुग्रह पनि हेर्नु जरुरी छ । निश्चित दललाई समर्थन गर्ने व्यक्ति वा पृष्ठमा सोही दललाई फाइदा पुग्ने सामग्री मात्रै सेयर गरिन्छन् । सेयर गर्ने व्यक्ति विश्वसनीय हुँदैमा सेयर गरिएका सामग्री विश्वसनीय नहुन सक्छन् ।

९.समाचारका आधारभूत तत्व

व्यावसायिक पत्रकार र मिडियाका सामग्रीमा समाचारका आधारभूत तत्व पूरा भएका हुन्छन् । प्रायः समाचारमा पहिलो अनुच्छेदमै वा केही अनुच्छेदभित्र ६‘क’ प्रश्नको जवाफ हुनुपर्छ– के, कहाँ, कसरी, कहिले, कसले र किन । त्यसैगरी एकतर्फी मात्रै भनाइ भएका वा कुनै पक्षलाई आरोप मात्रै लगाइएका र उसका भनाइ संलग्न नगरिएका समाचारमा आधारभूत तत्व पूरा भएका हुँदैनन् । समाचारमा सबै पक्षको भनाइ हुनुपर्छ ।

१०.भाषा र व्याकरण

विश्वसनीय समाचारमा ज्यादै कम मात्र भाषागत वा व्याकरणका गल्ती हुन्छन् । कुनै पनि सामग्रीका भाषा र व्याकरणमा धेरै गल्ती छन् वा तिनलाई सजिलै ठम्याउन सकिन्छ भने ती मिथ्या समाचारको सङ्केत हो ।

११.समाचारलाई दिइएको स्थान

कुनै सामान्य घटनालाई ठूलो स्थान वा ठूलो समाचारलाई सानो स्थान दिइएको छ भने ती सामग्रीलाई शङ्कास्पद तरिकाले हेर्नुपर्छ ।

यसका साथै मिथ्या सूचनाले कुनै मानवीय भावनालाई तुरुन्तै जागृत बनाइदिने गरी निर्माण गरिएका हुन्छन् जसले गर्दा यसले मानिसलाई तुरुन्तै खुसी, दुखी, उत्साहित वा निराश बनाउँछ । र, यस्तो भावनात्मक प्रतिक्रियाको असरले आलोचनात्मक विश्लेषण गर्न असमर्थ बनाइदिन्छ । भावनात्मक प्रतिक्रिया शक्तिशाली हुँदा मानिस स्वभावत आफूलाई अभिव्यक्त गर्न उत्तेजित हुन्छ र शेयर वा लाइक वा प्रतिक्रिया लेखेर मिथ्या सामग्री फैलाउने सहयोग गर्ने अवस्थामा हुन्छ । मिथ्या सूचना निर्माण र प्रवाह गर्नेहरूले त्यो मानवीय कमजोरीलाई प्रयोग गर्ने प्रयास गर्छन् ।

यदि सामग्री समाचार हो वा समाचारजस्तो देखिने गरी सोसल मिडियामा शेयर गरिएको छ भने निम्न कुराहरू पनि हेर्नुपर्छ:

  • शीर्षक र सामग्री मिल्नुपर्छ अनि शीर्षक भ्रामक हुनुहुँदैन ।
  • धेरै चोटि पुरानो समाचारलाई नयाँ सन्दर्भमा शेयर गरिन्छ जुनबेला त्यसले भ्रम सिर्जना गर्न सक्छ । त्यसैले शेयर गरिएको सामग्रीको प्रकाशित समय र मिति हेर्नुपर्छ ।
  • विश्वसनीय पत्रकार र मिडियाद्वारा उत्पादन गरिएका समाचारहरूमा समाचारका आधारभूत तत्वहरू हुन्छन् जस्तै सुरुका केही वाक्यहरूमा ‘को, के, कहिले, किन, कहाँ र कसरी’ भन्ने प्रश्नहरूको जवाफ हुन्छ । सुरुका केही अनुच्छेदहरूमा सन्तुलनको लागि अर्को पक्षको भनाइ, वास्तविक र नाम दिइएको व्यक्तिहरूको अभिव्यक्ति र तथ्य एवं तथ्याङ्कका स्रोतहरू हुन्छन् । यदि तीमध्ये केही कुरा छैन वा विश्वसनीय छैन भने त्यो मिथ्या सूचना हुने सम्भावना हुन्छ ।
  • मिथ्या सूचना प्रायः एक व्यक्तिद्वारा उत्पादन गरिन्छ । त्यसैले त्यसमा स्तरीय भाषा प्रयोग नभएको हुनसक्छ ।
  • मिथ्या सूचनामा प्रायः पुराना, भ्रामक र तोडमरोड गरिएका तस्बिर समावेश गरिएका हुन्छन् । शङ्कास्पद मिथ्या सूचना भेटियो भने त्यसका नाम वा घटना जनाउने केही प्रमुख शब्द गुगलजस्ता सर्च इञ्जिनमा खोज्न सकिन्छ । खोज्दा नाम चलेका साइटहरूमा पनि त्यो घटना देखियो भने त्यो सत्य हुने सम्भावना धेरै हुन्छ । तर, यदि धेरै मानिसले सोसल मिडियामा ठ्याक्कै उही कुरा वा उस्तै शब्द पोस्ट गरिरहेका छन् भने त्यो प्रायः मिथ्या हुने सम्भावना हुन्छ ।

कुनै पनि सामग्री पढ्दा यो मिथ्या सूचना हुन सक्छ भन्नेमा सचेत हुनुपर्छ । र सोहीअनुसार त्यो सामग्रीलाई लिनु पर्छ । कुनै सामग्री गज्जब छन् वा खुसी, रिस वा दुःख जस्ता मानवीय आवेगलाई तुरुन्तै जागृत गर्ने खालका छन् भने ती सामग्री शङ्कास्पद हुन्छन् । कुनै पनि सामग्री झट्ट विश्वास गर्न नसकिने खालको वा आश्चर्यचकित पार्ने खालको वा होइन होला लाग्ने खालको वा धेरै रमाइलो खालको छ भने त्यस्ता सामग्रीमा पनि शङ्का गर्नुपर्छ । र, अन्य थप स्रोत हेरेर मात्र विश्वास गर्नुपर्छ । विशेषणको अनावश्यक प्रयोग गरिएका सामग्री पनि मिथ्या हुने सम्भावना बढी हुन्छ ।