मिथ्या सूचना र अनलाइन उत्पीडनविरुद्ध युवालक्षित जनचेतनामूलक अभियान
मिथ्या सूचना र अनलाइन उत्पीडनविरुद्ध किशोरकिशोरी र युवाहरूमा जनचेतना फैलाउन र यसविरुद्ध लड्नसक्ने ज्ञान र सीप विकास गर्न सके यसका नकारात्मक प्रभावहरू कम हुन्छन् । युवा वा युवालक्षित समूहहरूले सानो स्तरमा पनि जनचेतनामूलक कार्यक्रमहरू गर्न सक्छन् ।
कार्यक्रमका प्रकार
मिथ्या सूचना वा अनलाइन उत्पीडन विषयमा यी कार्यक्रमहरू गर्न सकिन्छ:
कार्यशाला
कार्यशालामा सहभागी युवाहरुलाई मिथ्या सूचनाको प्रकार, स्रोत, प्रभाव र त्यसबाट कसरी जोगिने भन्ने विषयमा अन्तक्र्रिया, समूहगत अभ्यास र प्रस्तुतीकरणमार्फत सिकाउने कार्यक्रम हो । यसले व्यवहारिक ज्ञान विकासमा जोड दिन्छ । व्यवहारिक ज्ञानमा मिथ्या सूचना हो कि होइन भनेर पहिचान गर्ने वा कुनै जानकारीको सामान्य तथ्यजाँच गर्ने वा मिथ्या सूचना निर्माण वा भूमिका अभिनय जस्ता अभ्यासहरू गराउन सकिन्छ । यो १० देखि १५ जनाको समूहमा १ देखि ३ घण्टा गर्दा प्रभावकारी हुन्छ ।
तालिम
यो कार्यक्रम विशेष रूपमा युवाहरुलाई तथ्य जाँच, सूचना विश्लेषण, डिजिटल साक्षरता र सञ्चार माध्यमको मूल्यांकन गर्ने सीप प्रदान गर्नका लागि आयोजना गरिन्छ । तालिम कम्तीमा आधा दिनको हुनुपर्छ ।
छलफल
यो खुला संवाद वा बहसको कार्यक्रम हो जसमा युवाहरुबीच मिथ्या सूचना, यसबारे अनुभव, यसको सामाजिक प्रभाव, र समाधानका उपायहरूबारे विचार आदान–प्रदान गरिन्छ । छलफल १० देखि २० जनाको समूहमा गर्नुपर्छ र सहजकर्ताले सबै सहभागीलाई मौका दिन र विषयान्तर हुन नदिन चनाखो हुनुपर्छ ।
कक्षा / प्रस्तुतीकरण
यसमा विषयवस्तुमा आधारित कक्षा लिइन्छ वा प्रस्तुतीकरण गरिन्छ, जस्तै ‘मिथ्या सूचना कसरी फैलिन्छ?’ शिक्षक वा विज्ञद्वारा सञ्चालन गरिने यस्तो कार्यक्रम विद्यालय वा विश्वविद्यालयमा उपयोगी हुन्छ ।
प्रतियोगिता
युवाहरूलाई संलग्न गराउने आकर्षक माध्यम प्रतियोगिता हो । उदाहरणका लागि जनचेतनामूलक पोस्टर वा भिडियो बनाएर सोसल मिडियामा पोस्ट गर्ने वा वादविवाद वा निबन्ध लेखन वा मिथ्या सूचना पत्ता लगाउने वा कविता प्रतियोगिता जस्ता कार्यक्रम गर्न सकिन्छ । यसले सिर्जनात्मकता र सचेतना दुवै बढाउँछ । यस्तो कार्यक्रम चाहिँ ठूलो समूहमा गर्नुपर्छ ।
मिडिया सामग्री
रेडियो वा पत्रपत्रिका वा अनलाइन वा टेलिभिजनमा प्रकाशन प्रसारण गर्ने गरी मिडिया सामग्री उत्पादन गर्न सकिन्छ । यसले स्थानीय मिडियाको पहुँच उपयोग हुन्छ । उदाहरणका लागि विषयवस्तुबारे जनचेतनामूलक कार्यक्रम बनाउने वा अन्तर्वार्ता वा छलफल कार्यक्रम प्रसारण गर्ने पनि हुनसक्छन् । यस विषयमा लेख वा फिचर लेख्ने पनि हुन सक्छ ।
ध्यान दिनुपर्ने कुरा
कार्यक्रमका लागि सामग्री तयारी पहिल्यै गर्नुपर्छ । समूहमा पटक पटक छलफल गरेर प्रत्येक आयोजकको भूमिका निर्धारण गर्नुपर्छ र आफ्नो भूमिकाबाहेक अन्यको भूमिकामा जानुहुन्न ।
सबैभन्दा महत्वपूर्ण कुरा १८ वर्षभन्दा मुनिका किशोरकिशोरीसँग कार्यक्रम गर्दा शिक्षक वा अभिभावकको उपस्थिति अनिवार्य हुनुपर्छ । कार्यक्रममा सहभागीले भनेका अनुभव वा अन्य कुराहरूको गोपनीयता सुनिश्चित गर्नुपर्छ ।