मिथ्या सूचनाको प्रभाव
भारतमा व्हाट्सएपमार्फत् फैलिएका मिथ्या सामग्रीका कारण धेरै हिंसा फैलिनुका साथै त्यसका कारण थुप्रै व्यक्तिको मृत्यु पनि भएको छ । सन् २०१७ र सन् २०१८ मा मात्रै भारतमा बालक अपहरणकारी भएको आशंकामा भिडले अपरिचित व्यक्तिहरूलाई कुटपिट गर्दा २७ भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । मोटरसाइकलमा आएका पुरुषहरूले बच्चा अपहरण गरेको भनी देखाइएको झूटो भिडियो व्हाट्सएपमार्फत फैलिएपछि यस्ता घटनाहरू भएका थियो । त्यस्तै, सन् २०१० र सन् २०१७ को बीचमा गाईको रक्षा गर्ने नाममा हिन्दू अतिवादीहरू संलग्न भएका हिंसाका घटनामा २४ मुस्लिमसहित २८ भारतीयहरू मारिएका र १२४ जना घाइते भएको तथ्याङ्क छ ।
नेपालकै परिपे्रक्ष्यमा पनि मिथ्या सूचनाले हिंसात्मक घटना भएका उदाहरणहरू छन् । सन् २००० को डिसेम्बरमा भारतीय कलाकार हृतिक रोशनले नेपाललाई घृणा गर्छु भनेर टेलिभिजनमा बोलेको भन्ने पुष्टि नै हुन नसकेको कुरालाई लिएर काठमाण्डौँमा आन्दोलन चर्कियो, मधेसी मूलका नागरिकमाथि आक्रमण भयो र आन्दोलनको क्रममा कम्तीमा चार जनाको मृत्यु र १८० जना जति घाइते भएका थिए ।
त्यसो त सबै मिथ्या सूचनाले हिंसा निम्त्याउँदैन तर घातक परिणाम ननिम्त्याउने मिथ्या सूचनाले पनि व्यक्ति, समाज वा समुदाय र लोकतन्त्रलाई हानि भने पु¥याउँछ । व्यक्तिगत स्तरमा मिथ्या सूचनाले तनाव जस्ता मनोवैज्ञानिक हानि निम्त्याउँछ । कोभिड खोपका बारेमा फैलिएका मिथ्या सूचनाका कारण संसारमा धेरैले यसलाई लगाउन मानेका थिएनन् जसले गर्दा उनीहरू स्वास्थ्य जोखिममा परेका थिए । मिथ्या सूचनाकै कारण व्यक्तिले दैनिक जीवनका विभिन्न पक्षहरूमा गलत निर्णय लिन सक्छन् । गलत जानकारीले व्यक्तिलाई चिन्ता वा आतंकित पार्ने हुँदा हिंसात्मक व्यवहारसमेत गर्न सक्छ ।
कुनै समुदाय वा समाजमा मिथ्या सूचनाले पार्ने सबैभन्दा खराब प्रभाव भनेको सामाजिक ध्रुवीकरण हो । मिथ्या सूचनाले अतिवादलाई बढावा दिन्छ र सामाजिक द्वन्द्व सिर्जना गर्छ जसले सामुदायिक अमनचयनलाई असर गर्न सक्छ । मिथ्या सूचनाले नागरिकहरूको लोकतान्त्रिक सहभागिताको अधिकारलाई मात्र खतरामा पार्दैन, विचार र अभिव्यक्तिको स्वतन्त्रताका साथै गोपनीयताको अधिकारलाई पनि जोखिममा पार्ने भएकाले मानव अधिकारको पक्षमा समेत दूरगामी प्रभाव पार्न सक्छ । मिथ्या सूचनाले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको दायरालाई पनि घटाउँछ ।
मिथ्या सूचनाले समुदायमा पार्ने अर्को ठूलो प्रभाव विपद्का बेला देखिन्छ । विपद्का बेला फैलिएका मिथ्या सूचनाले उद्दारका कार्यहरूलाई प्रभावित पार्ने र राज्यसँग उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग नहुने अवस्था आउन सक्छ ।
मिथ्या सूचनाको सबैभन्दा ठूलो प्रभाव चाहिं राजनीतिमा देखिन्छ । लोकतन्त्रका लागि ठूलामध्ये एक खतराको रुपमा मिथ्या सूचनालाई लिने गरिन्छ । मतदानसम्बन्धी निर्णय गर्दा नागरिकहरूसँग भएको जानकारी नै मिथ्या पर्यो भने उनीहरूको निर्णय सही हुँदैन जसले गर्दा गलत मानिसहरू चुनिने र उनीहरूले पनि मिथ्या सूचनाकै आधारमा गलत निर्णय लिने खतरा रहिरहन्छ । यसर्थ मिथ्या सूचनाले नागरिक निर्णय प्रक्रियालाई विकृत बनाई लोकतन्त्रको जग नै अस्थिर बनाउँछ भनिन्छ ।