कसले फैलाउँछ मिथ्या सूचना?
नेशनल डेमोक्र्याटिक इन्स्टिट्युट, इन्टरनेशनल रिपब्लिकन इन्स्टिट्युट र स्ट्यानफोर्ड इन्टरनेट अब्जर्बेटरी (२०२३) को _सूचना चलखेलको मुकाबिलाः निर्वाचन र त्यसको सेरोफेरोका लागि स्रोत पुस्तिका_ले मिथ्या सूचनाका सन्दर्भमा उपद्रवी पात्र (थ्रेट एक्टर) भनेका समूहहरू यसप्रकार छन्:
राजनीतिक दल र अभियान
राजनीतिक दल र अभियानले विपक्षीहरूलाई बदनाम गर्नका लागि सूचना चलखेल गर्छन् वा धेरैभन्दा धेरै व्यक्तिसमक्ष आफ्ना कुरा पुर्याउनका लागि झुटा प्रचार गर्छन् वा आफूलाई भएको भन्दा ठूलो जनसमर्थन देखाउने खालका काम गर्छन् वा उनीहरूको अभियानको उद्देश्य पूरा गर्ने हिसाबले राजनीतिक बहस नै मोड्छन् । राजनीतिक अभियानहरूले चुनावका क्रममा वा अन्य अवस्थामा सूचनामा चलखेल गरेका हुन सक्छन् ।
अतिवादी समूह
समाजमा घृणा फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न चाहने समूहहरू र अन्य अतिवादी समूहहरूले घृणा र राजनीतिक ध्रुवीकरणलाई बढाउँदै आफ्ना सामाजिक वा राजनीतिक उद्देश्य प्राप्त गर्न सूचनामा चलखेल गर्छन् वा गराउँछन् । यसका लागि उनीहरूले लक्षित समूहहरूलाई चूप लगाउने, डर देखाउने वा मताधिकारबाट वञ्चित गराउने र हिंसा भड्काउनेसम्मका रणनीति अपनाउन सक्छन् । तिनीहरूका लक्ष्य बहुसंख्यक मतदातालाई कुनै खास समूहका विरुद्ध उक्साउने, अतिवादी नीतिहरूका पक्षमा समर्थन जुटाउने वा राजनीतिक सहभागितालाई दबाउने हुन सक्छन् ।
विदेशी सरकार
विदेशी सरकारहरूले सूचना चलखेललाई राज्यव्यवस्था र भूराजनीतिको साधनका रूपमा प्रयोग गर्छन् । उनीहरूले रणनीतिक महत्वको देशको निर्वाचन नतिजालाई प्रभाव पार्नका साथै आफ्नो हित हुने कुरालाई अगाडि बढाउन वा विदेशमा आफ्नो देशप्रतिको जनधारणालाई प्रभाव पार्न सुचना चलखेल गर्न सक्छन् । सूचना चलखेल गोप्य (जस्तै, नक्कली खाताहरूको प्रयोग मार्फत) वा खुला (जस्तै, आफ्ना पक्षका सञ्चारमाध्यममार्फत) वा दुवै किसिमले हुन सक्छ ।
आफ्नै सरकार
आफ्नै सरकारले पनि आममानिसको धारणालाई प्रभाव पार्नुका साथै अभियानी, पत्रकार वा राजनीतिक प्रतिपक्षीको राजनीतिक सहभागिता वा अभिव्यक्तिलाई दबाउन सूचनामा चलखेल गर्छन् । मानव अधिकारको दमन जस्ता कामबाट राजनीतिक लक्ष्य हासिल गर्नका लागि खुला र गोप्यरूपमा सरकारले सूचनामा चलखेल गर्छन् ।
व्यापारिक समूह
सोसल मिडिया प्लेटफर्महरू, जनसम्बन्ध विस्तारका लागि काम गर्ने व्यापारिक कम्पनीहरू वा रणनीतिक सञ्चार फर्म जस्ता व्यापारिक पात्रहरूले व्यापार मोडेलको एउटा अङ्गका रूपमा सूचना चलखेल गर्छन् । उनीहरूले अन्य पात्रसँग मिलेर नाफाका लागि विकृति फैलाउने काम गर्छन् । जनमत प्रभाव पार्ने उद्देश्यले प्रायः राजनीतिक अभियानहरू, सरकार वा विदेशी राज्यहरूसँग मिलेर उनीहरूका लक्ष्यलाई सहयोग पुग्ने काम गर्छन् ।
गैरव्यावसायिक मिडिया
राजनीतिक उद्देश्य वा आर्थिक चासो भएका संस्था वा सरकार वा अन्य राजनीतिक पात्रहरूद्वारा समर्थित गैरस्वतन्त्र सञ्चार माध्यमहरूले आफ्ना समर्थकहरूको स्वार्थअनुरूप आममानिसको धारणालाई प्रभाव पार्न सूचना चलखेल गर्न सक्छन् ।
मिथ्या सूचना फैलाउन कसको भूमिका छ भनेर थाहा पाउने गाहे काम हुन सक्छ । अझ विभिन्न पात्रको लक्ष्य एक अर्कामा खप्टिएर आएको छ भने त यो काम झन् गाह्रो हुन सक्छ । उदाहरणका लागि, कुनै विदेशी मुलुकले स्वदेशी समूहहरू वा षड्यन्त्र सिद्धान्तवादीहरूद्वारा उत्पादित सामग्रीलाई प्रसार गरिदिन सक्छ । यस्तै मौकामा मिथ्या सूचना उत्पादन गर्नेहरूलाई बजारले प्रोत्साहन गर्छ । यस्ता सामग्रीलाई भाइरल बनाउनाले ती सामग्री सिर्जना गर्ने सर्जक र ती सामग्री भएका पानाहरूमा विज्ञापनहरू राखिनु अन्यका लागि पनि आय उपार्जनको माध्यम हुन सक्छ ।