अनलाइन उत्पीडन

अनलाइन उत्पीडन भनेको इन्टरनेट प्रविधि प्रयोग गरी अरूलाई, विशेषगरी बालबालिका र किशोर/किशोरीलाई नकारात्मक, हानिकारक, गलत, गोप्य वा रुखो महसुस हुने सामग्री पठाउने वा मानसिक रूपमा नराम्रो महसुस हुने सामग्री सार्वजनिक गर्ने कार्य हो । अरू मानिसको मानवीय कमजोरीलाई लक्षित गरी लाञ्छना लगाउने वा व्यक्तिगत सम्बन्धका कुराहरू सार्वजनिक गर्ने वा मनोबल गिर्ने गरी गाली गर्ने वा आरोप लगाउने वा बेइज्जत हुने कार्य गर्ने वा धम्की दिने कार्यहरू साइबर उत्पीडन हो ।

इन्टरनेटमा कोही व्यक्तिलाई सोसल मिडियामा अनावश्यकरूपले ध्यान दिइरहने साइबर स्टकिङ् वा कुनै व्यक्तिलाई धेरै मानिसले कुनै विषयलाई लिएर आलोचना वा गालीगलौज गर्ने ट्रोलिङ पनि साइबर उत्पीडन हुन् । साइबर उत्पीडनका कारण चर्चित व्यक्तित्वहरूले सोसल मिडिया चलाउनै छाडेकोदेखि बालबालिका र किशोर/किशोरीले आत्महत्या गरेकासम्म उदाहरण छन् ।

यसले आत्मबल र मनोस्वास्थ्यमा नकारात्मक असर पार्दछ । अनलाइन उत्पीडन शारीरिक उत्पीडन जत्तिकै खतरनाक हुन्छ । यसले जीवनमा गम्भीर असर पार्छ र धेरैजसो अनलाइन उत्पीडन अफलाइन उत्पीडनमा पनि परिणत हुन सक्छ । त्यसैले यो कुरामा ‘यस्तै त हो’ भनेर चुप लागेर बस्नु हुदैन ।

यसमा निम्न कुराहरू पर्न सक्छन्:

  • कन्सर्न ट्रोलिङ (concern trolling)
  • साइबरबुलिङ (cyber bullying)
  • बडी शेमिङ (body shaming)
  • डगपाइलिङ / साइबर मोब आक्रमण (dogpiling / cyber mob attack)
  • साइबर स्टकिङ (cyber stalking)
  • डीपफेक / तस्बिर तोडमरोड (deepfake / photo manipulation)
  • डक्सिङ (doxxing)
  • घृणास्पद वचन (hate speech)
  • अनुमतिबिना तस्बिर प्रवाह (nonconsensual intimate images)
  • नक्कली अनलाइन पहिचान (online impersonation)
  • अनलाइन यौन दुर्व्यवहार (online sexual harassment)
  • फिसिङ / ह्याकिङ (phishing / hacking)
  • धम्की (threat)

यीमध्ये प्रमुख साइबर उत्पीडनका बारेमा यसपछिको अध्यायमा हेर्नुहोस् ।