मिथ्या सूचनाका प्रकार
मिथ्या सुचनाले पुर्याउने हानि एवं झूटको मात्राका साथै पठाउनेको मनसायको आधारमा मिथ्या सूचनालाई दुष्सूचना, खराब सूचना र दूष्प्रचारको रूपमा छुट्याइन्छ ।
मिथ्या सूचना (misinformation)
मिथ्या सूचना (मिसइन्फर्मेसन) को दुई तरिकाले अर्थ लाग्छ । यसलाई अञ्जानमा फैलाइएको गलत जानकारीका रुपमा हेरिन्थ्यो तर अहिले धेरैजसो अवस्थामा मिथ्या सूचना भन्नाले सबै प्रकारका गलत वा भ्रामक सूचना बुझाउने शब्दका रुपमा प्रयोग गरिन्छ । पठाउनेको मनसाय जस्तोसुकै भएपनि अर्थात् जानाजान फैलाए पनि वा अञ्जानमा फैलाए पनि मिथ्या सूचनाको समान प्रभाव हुने हुँदा पठाउनेका नियतका हिसाबले छुट्टयाउन नहुने भन्नेहरू पनि छन् ।
दुष्सूचना (disinformation)
दुष्सूचना (डिसइन्फर्मेसन) भनेको चाहि कुनै फाइदा प्राप्त गर्न वा हानि पुर्याउनका लागि जानाजानी निर्माण वा पठाइएको झूटा सामग्री हो । दूष्सूचना फैलाउनमा पठाउनेको उद्देश्य पैसा कमाउने वा राजनीतिक प्रभावका लागि वा रमाइलोका लागि हुन सक्छ ।
खराब सूचना (malinformation)
खराब सूचना (मालइन्फर्मेसन) भन्नाले कुनै व्यक्ति, सामाजिक समूह, संस्था वा देशलाई भौतिक हानि पुर्याउने वा हिंसा फैलाउने जस्ता गलत उद्देश्यका लागि निर्माण वा प्रेषण गरिएको सही जानकारी वा गलत सामग्रीलाई बुझाउँछ । घृणायुक्त वचन पनि खराब सूचनाको एउटा रूप हो ।
घृणायुक्त वचन (hate speech)
कुनै समूहलाई तिनीहरू को हुन् भन्ने आधारमा (जस्तै, धर्म, जाति, राष्ट्रियता, रंग, वर्ण, लिङ्ग वा अन्य पहिचान कारकको आधारमा) आक्रमण गर्ने वा अपमानजनक वा भेदभावपूर्ण भाषा प्रयोग गरी बोली, लेखन वा व्यवहारमा हुने कुनै पनि प्रकारको सञ्चारलाई संयुक्त राष्ट्रसंघले घृणायुक्त वचन वा हेट स्पीच भनेर परिभाषित गरेको छ । घृणायुक्त वचन फोटो, कार्टुन, मीम, इशारा र प्रतीकमार्फत् पनि अफलाइन वा अनलाइन प्रवाह हुनसक्छन् ।
अन्य शब्दावलीहरू
यसबाहेक केही अन्य शब्दावलीहरू मिथ्या सूचनाको परिप्रेक्ष्यमा प्रचलित छन् । तीमध्ये केही इन्फोडेमिक, सूचना विकार वा इन्फर्मेसन डिसअर्डर, गलत समाचार वा फेक न्यूज र सूचनाको चलखेल हुन् ।
कोभिड–१९ ले संसारलाई अस्तव्यस्त बनाएको र प्रविधिको प्रयोग मात्र नभई रोगको बारेमा गलत जानकारी पनि बढाएको बेला विश्व स्वास्थ्य संगठनले इन्फोडेमिक शब्द प्रयोग गरेको थियो । यसले अफवाह, मिथ्या र अविश्वसनीय जानकारीसहित सबै प्रकारका जानकारीको द्रुत प्रसार र गम्भीर संक्रामक प्रकोपको समयमा भ्रम, चिन्ता र आतंक उत्पन्न गरेको अवस्थालाई जनाउँछ । जानाजानी महामारीलाई बढावा दिने झूट र घातक मिथ्या सूचनाको भाइरल भएको अवस्थालाई वर्णन गर्दै डिसइन्फोडेमिक शब्द पनि प्रचलनमा आयो ।
सूचना विकार (इन्फर्मेसन डिसअर्डर) भन्नाले मिथ्या सूचना, दूष्सूचना र दुष्प्रचारमार्फत प्रायः अप्रत्याशित तरिकाले राजनीति वा समाजलाई अनपेक्षित प्रभाव पार्ने सूचना अवस्था बुझिन्छ ।
सन् २०१६ तिर खुबै चर्चामा आएको र त्यसको पछिल्लो वर्ष कोलिन्स शब्दकोशले फेक न्यूज (मिथ्या/गलत समाचार)लाई वर्षको शब्दको रुपमा वर्गीकरण गरेको थियो । मिडियामा प्रकाशित गलत वा भ्रामक सामग्रीलाई बुझाउने यो शब्द अहिले भने अनुसन्धाता र मिथ्या सूचनाविरुद्ध कार्य गर्नेहरूले प्रयोग गर्दैनन् । जटिल समस्यालाई सरल रुपमा चित्रित गर्ने यो शब्दलाई नेताहरूले स्वतन्त्र मिडिया वा पत्रकारितालाई बद्नाम गरी कमजोर पार्न प्रयोग गर्ने गर्छन्