मिथ्या सूचनाविरुद्ध अभियानः मिडिया साक्षरता

अहिलेको सूचना चक्रमा कुनै पनि व्यक्तिलाई विभिन्न स्रोतबाट जताततै थरीथरीका सूचना द्रुत गतिमा प्राप्त भइरहेका हुन्छन् र सूचनाको गति एवं संख्या धेरै भएको हुँदा सूचनाको परख गर्ने समय असाध्यै कम मिल्छ । सूचनाको परख गर्नु आफैँमा सजिलो र छिटो हुने काम पनि होइन ।

मिडिया साक्षरता भनेको सामान्यरूपमा मिडियाका विभिन्न रूपका सामग्रीहरू प्राप्त गर्न, मूल्याङ्कन गर्न र निर्माण गर्न जान्ने क्षमता हो । त्यसबाहेक मिडियाका सामग्रीका सन्देश बुझ्न सक्ने, त्यस्तो सन्देश किन दिइरहेको छ भनेर सोच्न सक्ने र त्यसबाट हामीलाई के प्रभाव पर्छ भनेर मूल्याङ्कन गर्न सक्ने सिप पनि मिडिया साक्षरता हो ।

उदाहरणका लागि सूचनाको स्रोतका रुपमा धेरै चर्चा आमसञ्चार माध्यम वा सोसल मिडियामा मात्रै हुन्छ तर अहिलेको विश्वमा मानिसहरूले निम्न माध्यमबाट सूचना प्राप्त गरिरहेका हुन्छन्:

  • परम्परागत मिडिया (पत्रपत्रिका, रेडियो र टेलिभिजन)
  • सोसल मिडिया (फेसबुक, युट्युब, ट्विटर, टिकटक)
  • अनलाइन मिडिया (वेबसाइट वा पडकास्ट)
  • छलफल प्लेटफर्महरू (रेडिट, डिस्कर्ड)
  • सन्देश आदान–प्रदान गर्ने एपहरू (ह्वाट्सएप, फेसबुक मेसेन्जर, भाइबर, इमो)
  • मोबाइल एपहरू (हाम्रो पात्रो)
  • भिडियो गेम वा विज्ञापन,
  • किताब (कथा/उपन्यास/कविता)
  • इतिहास वा अन्य विषयका पुस्तक वा कमिक्स,
  • फिल्म, नाटक वा प्रदर्शनी
  • साथीभाइ, अभिभावक, शिक्षक र अन्य व्यक्ति

यी सबै सूचनाका स्रोत हुन् भनेर जान्नु पनि मिडिया साक्षरताको अंश हो ।

प्राप्त सूचनालाई परख गर्न आवश्यक सिपहरूलाई नै मिडिया तथा सूचना साक्षरता भनिन्छ । मिडिया तथा सूचना साक्षर हुन निम्न ज्ञान र सिप आवश्यक पर्छ:

  • मिडिया र सूचनासम्म पहुँचः सूचना प्राप्तिका स्रोत र उपकरणसम्म पहुँच, सूचना प्राप्त गरेपछि त्यसको मूल स्रोतबारे जानकारी ।
  • सूचनाको मूल्याङ्कनः प्राप्त सूचनामाथि यो सूचना किन यो रूपमा वा यो तरिकाबाट दिइयो र स्रोतका रूपमा किन कसैलाई प्रयोग गरियो भन्ने जस्ता प्रश्नको उत्तर खोज्ने प्रयास ।
  • सूचना निर्माण/प्रकाशनः रेडियो, टिभी वा पत्रपत्रिकाका सामग्री कसरी कसले बनाउँछ वा सोसल मिडियाका सामग्री कसले कसरी बनाउँछ भन्ने ज्ञान र सिप ।
  • सूचनामाथि आलोचनात्मक दृष्टिः प्राप्त सूचनाले के र कस्तो प्रभाव पार्न सक्छ वा ती सूचना कसले कुन प्रयोजनका लागि दिएको हुन सक्छ भन्ने आलोचनात्मक प्रश्न ।
  • सूचनाको छनोटः माथिका चरण पार गरिसकेपछि सूचनाका सही स्रोत छान्ने र सूचना प्राप्तिपछि के गर्ने भन्ने कुराको अभ्यास ।

मिडिया र सूचना साक्षर व्यक्तिले शीर्षक पढेर, लेखक चिनेर र सूचनाको मिति हेरेर मिथ्या सूचनाको पहिचान गर्छन्, सूचना परीक्षणका लागि फरक स्रोतहरू प्रयोग गर्छन् । भाषाशैली हेरेर सूचना फैलाइएको कारण अध्ययन गर्छन्, सूचनामा भएका अङ्क वा तथ्याङ्क कहाँबाट र कसरी आयो भन्ने विचार गर्छन् । तस्बिर वा चित्रहरू किन प्रयोग गरियो र त्यसले हामीलाई के असर गर्छ भन्ने थाहा पाउँछन् । सूचना सामग्रीहरू आफैँ तयार गर्न सक्छन्, सूचना सामग्रीको पक्ष/विपक्ष वा आग्रह/पूर्वाग्रह छुट्टयाउन सक्छन् र भरपर्दो सूचना स्रोतको सूची बनाउन सक्छन् ।