अश्लील सामग्रीमा पहुँच

इन्टरनेटमा छरपष्ट यौन सामग्रीहरूसम्म यसका प्रयोगकर्ताहरूको सजिलै पहुँच पुग्छ । त्यस्ता सामग्रीहरूको आक्रामक विज्ञापनका कारण इन्टरनेट प्रयोगकर्ताले नचाहे पनि कतै न कतै यस्ता सामग्री देख्न पुग्छन् । इन्टरनेटमा भएका सामग्रीमध्ये लगभग १५ प्रतिशत अश्लील यौन सामग्री छन् र कुल इन्टरनेट प्रयोगको ३० प्रतिशत अश्लील सामग्रीका लागि गरिन्छ ।

यौन सामग्रीहरूको पहुँच र यसको ज्यादा प्रयोगले व्यक्तिमा नकारात्मक प्रभावहरू पर्छ जसले जीवनभर उनीहरूलाई तनाव वा कुलतमा राख्न सक्छ । अश्लील चित्र हेरेपछि बालबालिकामा उमेर नपुग्दै यौनप्रति रुचि देखिन थाल्छ, यौन सामान्य र सहज हो भन्ने छाप पर्न सक्छन् । उनीहरू समकालीन वा वयस्कहरूसँग उत्तेजक व्यवहार गर्ने, परिवार र साथीभन्दा बेग्लै बस्न रुचाउने, लागु पदार्थको कुलतमा फस्ने, अध्ययनप्रति रुचि नदेखाउने र आत्महत्यासम्मको प्रयास गर्न सक्छन् ।